सपनाको समाधि

शीर्षक : सपनाको समाधि

लेखक : तारालाल श्रेष्ठ

पृष्ठ संख्या : २८८, २०१२

आइएसविएन : ९७८–९९३७–८–४३६२–१

मूल्य : अमेरिकी डलर ३० (कुरियर खर्चसहित)

 

तारालाल श्रेष्ठको उपन्यास सपनाको समाधिको एक अंश

मार्मिक धुनसँगै एसेम्बल्ड क्षतविक्षत तस्बिरहरू कम्प्युटरका स्क्रिनभरि चलमलाए । वियोगका विसङ्गत शब्द–विम्बहरू तस्बिरहरूसँगै सलबलाए…

‘…कुनै दिन तिमी मेरा लागि रुनेछौ….जसरी म तिम्रा लागि रोएँ….कुनै दिन तिमीले मलाई गुमाउनेछौ….जसरी मैले तिमीलाई गुमाएँ….एकदिन तिमी पछाडि फर्किहेर्नेछौ….र महसुस गर्नेछौ, तिमीले के ग¥यौ….सधैँ उस्तै सपनासँग बाँच्नुभन्दा….बरु मीठो सम्झनासँगै मर्नु बेस….पटक–पटक मैले बाँच्ने प्रयास गरेँ….प्रत्येक–पटक तिमीले वाचा तोडिदियौ….अनि म रोएँ, रोइरहेँ, आँसु पुछिरहेँ….अदृश्य आँसुहरू पुछिसाध्य नै भएन….सपनाबाहेक संसारमा केही बाँकी पनि रहेन….अनि मनमा लाग्यो, ओहो ! आजसम्म म किन जीवितै…?’

सुसाइड भिडियो सामाजिक सञ्जालमार्फत छ्यापछ्यापती फिँजियो । केही क्षणमै संसारभरि फैलियो; सर्वत्र; छताछुल्ल ।

आफन्तहरू बीच अप्रिय आवाज गुन्जियो, ‘लौन न नि, कान्छीले त आत्महत्या पो गरिन् रे !’

समाचारले पनि भन्यो, ‘अस्ट्रेलिया….एक्काईस वर्षीय एक नेपाली भाषी युवतीद्वारा सुसाइड भिडियो सार्वजनिक गरी झुन्डिएर आत्महत्या…।’

केही क्षणमै हजारौँले सुसाइड भिडियो हेरिसकेको प्रतिक्रिया आयो ।

सूर्यझैँ वेगवान् गतिमा उसले आफन्तजनलाई फोन ग-यो । इमेल ग-यो । एसएमएस ग-यो । स्काइप अनमै बस्यो ।

उताबाट खबर आयो, ‘आफ्नै संस्कारअनुसार सद्गत गर्दै छौँ….मृत्यु संस्कारका मुख्य मन्त्रलाई अङ्ग्रेजीमा उल्था गरेर तुरुन्त इमेल गरिदिनू ।’

उसले कान्छी बहिनीको सपना सम्झ्यो । स्टाफ नर्स अध्ययन सकिनेबित्तिकै एमबीबीएसको तयारीमा लाग्ने उनको सपनाको चिहान ऊअगाडि उभियो । उभिइरह्यो ।

अमेरिका पुगेको कान्छी बहिनीको प्रेमीले अर्कै केटीसँग अर्को दिन बिहे गर्दै रहेछ । साथीझैँ दाजुलाई समेत उनको प्रेमबारे अत्तोपत्तो थिएन । उसले आफ्नो वरिपरि प्रेम नै प्रेम, प्रेमी नै प्रेमी देख्यो । ‘प्रेमले कसैलाई किन यति साह्रो कमजोर बनाउँछ हँ ?’, उसले सोच्यो ।

उताबाट अर्को खबर आयो, ‘…कान्छीलाई दुलहीझैँ अन्माएर सद्गत गर्दै छौँ । सबै शृङ्गारले सजिसजाउ दुलहीझैँ देखिँदै छिन्, कान्छी । सबैलाई चिन्ता नलिनू भन्नू ।’

दिवा सपनामै ऊ कान्छी बहिनीको मलामी गयो । झलझली उसका आँखाअगाडि मृत्युसंस्कारका दृश्यहरू देखा परे; जीवन्त जुलुसजस्तै; एकपछि अर्काे सिनेमाको दृश्यजस्तै; सपनामै बिपनाझैँ; बिपनामै सपनाझैँ; सद्गतका दृश्यहरू ऊअगाडि दौडिइरहे । दिनमै रातझैँ; रातमै दिनझैँ ।

उताबाट अन्तिम खबर आयो, ‘बोल्न मात्र नसक्ने दुलहीझैँ कान्छीको दाहसंस्कार हुँदै छ ।’

थुप्रै थिए रे, मलामी । पर पराइ–भूमिमा एउटा अस्तित्व विलीन भयो । कान्छी कल्पनामा मात्र जीवित रहिन् । सपनामा मात्रै सीमित भइन् ।

कान्छीलाई चिन्नेजान्नेले भने, ‘तिनलाई नपुग्दो के थियो र !’

कान्छीको आत्महत्याबारे अनेक टिकाटिप्पणी आइरहे । उसले त्यसलाई सुनिरह्यो । पढिरह्यो । पचाइरह्यो । चुपचाप ।

ऊ अमेरिका उड्नुअगि अदृश्य आँसु बोकेका उसका आँखाले आफ्नो जीवनलाई फर्केर हे-यो । आफ्नो अतीतलाई फर्केर हे-यो । वर्तमानभन्दा बलवान् विगत । आगतभन्दा अमूल्य विगत । रातभन्दा लामो सपनाजस्तै उसको जीवनकथाका अनगिन्ती केस्रा–केस्रा एकपछि अर्को ऊअगि उभिए । पट्यारलाग्दो पर्खाइभरि । ऊ उड्नुअगि ।

सपनाको समाधिको अंश