अलबिदा बेलडाँगी

अलबिदा बेलडाँगी
लेखकः शिवलाल दहाल
पृष्ठ संख्याः २१५
प्रकाशनगृह: डिस्कोर्स पब्लिकेशन, काठमाण्डौ
मूल्यः अमेरिकी डलर १५ (सिपिङ्गसहित)




 

बिदाइको दिन नजिकिँदै छ । धेरै कुरा छ अटाउनुपर्ने बीस–केजी झोलामा ।

बीस वर्षअघि र अहिले शरणार्थी क्याम्पको बसाइमा खासै फरक देखिएको छैन । उही बाँसले निर्मित रेलगाडीका डम्बाजस्ता लाम लागेका छाप्रा । बर्सातको हिलो र सुक्खा यामको धुलो उही । उही हावाहुरी र पानीझरी । उही कोलाहल, होहल्ला, बच्चाहरुको चिच्च्याहट, क्याम्पभित्रको उकुस–मुकुस र गुम्स्याहट । यो त्यही बेलडाँगी हो, हामी बीस वर्षअघि आउँदाको । हामीले पोकापुन्तरा बिसाउँदाको उदास र फिक्का अनुहार, यो उही बेलडाँगी–२ हो । संस्थाले दिने राहत–सुविधाहरु पनि उस्तैउस्तै हो । मेरो मतलब बाहिरी रुपाकृतिमा उस्तो भिन्नता छैन । फरक त परिवेश, चिन्तन र मूल्यमा छ । फरक त उद्देश्य, चेतना र गन्तव्यमा छ । फरक त मनोविज्ञान, दृष्टि र समष्टिमा छ ।

अहिले फेरि उही बेलडाँगी–२ मा आश्रय लिन आइपुगिएको छ । यो दुई दशकको समय निश्चय पनि छोटो होइन । एउटा सिङ्गै नयाँ पुस्ताकै सिर्जना भइसक्यो, भुटानलाई देख्तै नदेखेको, चिन्दै नचिनेको । जुन देशबाट लखेटिएर आएको हो, त्यही देशसँग आज अपरिचित, अनभिज्ञ ।

गहिरिएर हेर्दा आकाश–जमिनको भिन्नाताबोध हुन्छ । त्यसबेलाको परिस्थिति भनेको देशबाट भर्खर निस्किँदाको परिस्थिति हो । देशबाट लखेटिएर अलपत्र भई शरण माग्दै हिँडेको, गुहार माग्दै हिँडेको समय हो, त्यो समय । आफ्ना सन्तान, भाइभतिजा र इष्टमित्र मारिएको र जेलभित्र थुनिएको तथा बर्बर यातना दिएका घटनाहरु, अबोध किशोरीहरु, बलात्कृत भएका बीभत्स दृश्यहरु अनि त्यहाँका हृदयहीन शोषक–प्रशाषक र तिनका हिंस्रक आँखाहरु शरणार्थीका मानसपटलबाट टाढा भएका थिएनन् । आलै थियो बर्सौँवर्ष बसेको घर–गाउँ–देश छोड्दाको पीडा । भनिनसक्नुको थियो देशबाट टाडिनुपर्दाको पृथक्ताको पीडा । अरु केही थिएन शरणार्थीका मनभित्र । थियो त त्यहीँको खेत–बारी, पाखा–पखेरा, वन–जङ्गल, खोला–नाला, ढुङ्गा–माटो, ंछहरा र हिमशृङ्खलाहरुको चित्र । थियो त बलजफ्ती देशबाट लखेट्ने शाषकहरुप्रतिको आक्रोश र घृणा । अरु केही थिएन चाहना, थियो त त्यही देशमा फर्की जाने, आफ्नै गाउँ–घर–आँगनमा पुनर्गमन हुने मनोभावना । अरु केही उद्देश्य थिएन, थियो त निरङ्कुशताको समाप्ति र लोकतान्त्रिक मूल्यको स्थापना …